स्तेजामा उनको डान्स देखेर दर्शक मज्जाले हाँस्छन् । उनको खुवी भनेकै दर्शकलाई हाँस्न उत्साहित पार्नु हो । त्यसैले उनी अभिनयमा नयाँ भूमिका रुचाउँछन् । ‘न्यू गेटअप’ का
सौखिन उनी यतिबेला कमेडिएन टेलिसिरियल ‘मेरी बास्सै’ मा साँच्चिकै नयाँ भूमिकामा देखा परिरहेका छन् । उनी अर्थात विल्सनविक्रम राई, जो स्टेजबाट एकैपटक हाँस्यव्यङ्ग्यको अभिनय यात्रामा पछिल्लो पटक मेरी बास्सैका सारथी भए ।
‘सधैं एउटै भूमिका र शैलीले दर्शकलाई हँसाउन नसकिने रहेछ’, मेरी वास्सैमा तक्मे बूढाको भूमिका प्रष्ट्याउँदै उनले भने, ‘मलाई नचिन्ने धेरै दर्शकले बूढो ठान्दा रहेछन् ।’ तिनै दर्शकमध्येका एक हुन् एसपी रमेश खरेल । खरेललाई तक्मे बूढाको अभिनय निकै मन परेछ । बुढ्यौली उमेरमा तक्मे बूढाको बेजोड अभिनय देखेर खरेलले उनलाई बधाई दिए । त्यो बेला मात्रै एसपी सावलाई थाहा भयो, तक्मे बूढा त भर्खर २५/२६ वर्षका रहेछन् । हो, दर्शकले ठानेजस्तो विल्सन न पाको ‘एज’का कलाकार हुन्, न त ‘रियल लाइफ’का गोर्खा सैनिक । मेरी बास्सैमार्फत एक महिनायता दर्शकमाझ गोर्खा सैनिकको ‘रिटायर्ड लाइफ’ का अनुभव साटिरहेका उनको अभिनय ‘रियल’ छ ।
आफैँले परिकल्पना गरेको भूमिकामा पाँच ‘एपिसोड’ अभिनय गरिसकेका विल्सनको लिम्वू लवज दर्शकमाझ छोटो समयमा निकै भिजेको छ । अझ उनको इमान, इज्जित र ‘प्रेस्टीज’ को कुरा सुनेर दर्शक नहाँसेको क्षण हुँदैन । गोर्खालीको छोरो भएर नेपालमा जन्मिदा इज्जित, हिन्दुस्तानमा लडाईं लड्दा इमान र व्रिटिस सेनामा लडाईं लड्दा प्रेस्टीज पाएको भन्दै क्यारेम र चेस खेलेर प्रतिष्ठा नबढ्ने सङ्केत गरेका छन् ।
राई भए पनि उनको लिम्वू लवजले मौलिकता बोकेको छ । ‘राईको छोरो भए पनि म लिम्वूको भाञ्जो हुँ’, शुक्रवारे कफी गफमा विल्सन फिस्स हाँसे, ‘अव त राईको छोरो लिम्वूको भाञ्जो तक्मे वूढो भइयो ।’ आर्मी हेडक्वाटरबाट ल्याएको तक्मा लगाएर अभिनय थालेपछि उनको व्यस्तता बढेको छ । एक महिनायता पूर्वका सातवटा महोत्सवमा उनले दर्शक हँसाइसकेका छन् । उनी गीत गाएर पनि दर्शक हसाउँन सिपालु छन् ।उनले झापा कारागारका कैदीबन्दीलाई पनि छोडेनन् । सहिद दिवसको मौका छोपेर कारागार छिरेका उनको प्रस्तुतिले सिङ्गो कारागार हाँसोले गुन्जियो । पाँचसय भन्दा बढी कैदीबन्दीले तक्मे बूढोको क्यारिकेचर हेरे । उनको लिम्वू लवजले धेरैलाई मनोरञ्जन दियो ।
जनजाति समुदायबाट यसअघि हाँस्यव्यङ्ग्यमा जमेका साम्दे शेर्पापछि विल्सन आफूलाई दोस्रो पुस्ताको पहिलो कमेडियनका रुपमा स्थापित गरेका छन् । उनले भने, ‘तक्मे बूढाको भूमिकाले हास्यव्यङ्ग्यमा स्थापित हुन मलाई अझै सजिलो भएको छ ।’ उनको अभिनयले पूर्वका लिम्वू जातिको मौलिक लवजको प्रतिनिधित्व गर्छ । हराउँदै गरेको भाषा र संस्कृतिको जगेर्नामा प्रेरित गर्न आफूले त्यस्तो भूमिका परिकल्पना गरेको उनी बताउँछन् । उनको यो अभिनय हेरेका विदेशी नेपाली दर्शकले पनि उनलाई अझै उत्साहित पारिरहेका छन् । युट्युव र फेसवुकमार्फक मेरी बास्सैका शृङ्खला हेरेका दर्शकको चाहना आफू बसेको देशमा उनलाई बोलाएर कन्सर्ट गर्ने नै हो ।






0 comments:
Post a Comment