मलाई दण्डित हैन, मैले अघि बढाएको आन्दोलनलाई दण्डित गरिएको हो

सर्वोच्चले भ्रष्टाचारको अभियोग ठहर गरी डेढ वर्ष कैद र जरिवानाको सजाय सुनाएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री जेपी गुप्ताले अदालतको फैसलालाई मधेस आन्दोलनसित जोडेका छन। 'मलाई दण्डित हैन, मैले अघि बढाएको आन्दोलनलाई दण्डित गरिएको हो', गुप्ताले भने, 'एक डेढ वर्ष जेलमा बस्दैमा यो आन्दोलन समाप्त हुने छैन।

'मधेसी जनताको लागि मैले सुरु गरेको संघर्ष र विगतमा आन्दोलनलाई जसरी अघि बढाएँ, त्यसवापत् मलाई दण्डित गर्ने काम भएको हो', उनले आरोप लगाए।

उनले राजाको प्रत्यक्ष शासन कालमा आफूलाई अभियोग लगाएर प्रताडित गरिएको र लोकतन्त्रपछिको कठिन परिस्थितिमा त्यसलाई प्रमाणित
गरिएको बताए। उनले यो फैसलालाई संघर्षको रुपमा लिएको बताए।

गुप्ताले मिडियामार्फत् नै मन्त्री पदबाट राजीनामा दिएको बताए। 'यो परिस्थितिमा म प्रधानमन्त्रीसामु आफै उपस्थित भई राजीनामा पेश गर्न सक्दिनँ, यसैबाट जानकारी होस् भन्ने निवेदन गर्न चाहन्छु।' यद्यपि भ्रष्टाचारको मुद्दा प्रमाणित भएपछि सार्वजनिक पदमा रहेका व्यक्ति स्वतः निलम्बित हुने प्रावधान छ।

के छ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा ?
कुनै राष्ट्रसेवक अनुसन्धान तहकिकातको लागि दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।


सर्वोच्चको फैसला सुन्न इजलासमा आउँदा उनी झण्डा भएको गाडी नचढी निजी गाडीमा आएका थिए।

0 comments:

Post a Comment